विश्वविख्यात हास्य कलाकार चार्ली च्याप्लिन अक्सर भन्ने गर्थें, ‘मलाई झरी असाध्यै मन पर्छ, किनभने झरीमा मेरा आँसु कसैले देख्दैन ।’ हरेक व्यक्तिका लागि यो साँच्चै पीडादायी अवस्था हो। त्यसो त उनका यस्ता भनाइहरू अनगिन्ती छन् तर यो भनाइ साँच्चै मर्मस्पर्शी छ । हामी सबैको जीवनमा थोरबहुत मेल खान्छ ।
उसो त नेपाली जनताले यस्तो कुरा आजसम्म मुखले त भनेका छैनन् तर चार्लीको भनाइ सापटी लिंदा जनताको मनको वास्तविक कुरा यही हो भन्दा फरक पर्दैन । अहिले नेपाली जनताको हालत यस्तै छ । कारण, जनताको मन रोएको नदेख्ने सरकार जतिवटा बने पनि र जति पटक बदलिए पनि त्यसको कुनै अर्थ छैन । सरकार फेरिंदा जनतामा कुनै हर्ष र उत्साह छैन, न हिजो थियो, न आज छ । त्यसैले अहिलेको सरकार अदलीबदलीसँग जनताको खासै साइनो वा सरोकार छैन ।
सरकार आउने–जाने मात्र भएपछि जनतालाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ हुन्छ नै र काठमाडौंका बासिन्दालाई जनकपुर–जयनगर चल्ने रेलको दैनिकी जस्तै हो सरकार परिवर्तन, आउँछ जान्छ । समयक्रममा राम्रा नतिजा देखिएछन् भने विश्वास गरौंला, स्याबासी दिउँला । अहिलेलाई नयाँ गठबन्धनबाट बनेको सरकारलाई केवल शुभकामना मात्रै छ । सरकारको मधुमास सिद्धिएपछि खास टिप्पणी र समीक्षा गरौंला । आजको बहस यसैमा हो तर फरक प्रसंगका साथ ।
हम्मेसी जुन कुनै पात्रको चरित्रले हामीलाई छुँदै छुँदैन । जसको चरित्रले छुन्छ, ती कमै वा अपवाद हुन्छन् । यो रङ्गमञ्चको या सिनेमाको विषय मात्र होइन । समाजका अधिकांश क्षेत्र यस अन्तर्गत पर्दछन् । नायक र खलनायक हरेक क्षेत्रमा हुन्छन् नै ।
साहित्य, संगीत, कला, व्यापार, वाणिज्य, समाजसेवा वा राजनीति नै किन नहोस् । यसमा हामी सबै जानकार नै छौं । संसारभरि यस्तो प्रभाव र अनुभव हुने गरेको छ । तर यो सबैका लागि एकसमान भने हुँदैन । आ–आफ्नो रुचि र इच्छा अनुसार हाम्रा लागि छुने चरित्र फरक–फरक हुनसक्छन् । यसमा पनि फरक–फरक श्रेणी छ । सकारात्मक र नकारात्मक दुवै ।
सकारात्मक चरित्र त समाजको आदर्श वा गहना नै भैहाल्यो, कहिलेकाहीँ नकारात्मक चरित्र पनि छाप बनेर बस्न आइपुग्छ । हाम्रो सन्दर्भमा चर्चा गर्न लागिएका पात्र कस्ता हुन् नेपाली समाजले नै स्वयं निर्क्योल गरोस्, हाललाई यसमा हामी प्रवेश नगरौं । तर विश्वका एक जादुगर, भ्रमवादी (इलुजनिस्ट) वा भाग्ने कलाकार (इस्केप आर्टिस्ट) ह्यारी हुदिनीसँग सामान्य तुलना गरेर केहीबेर मनोरञ्जन भने गर्न सक्छौं । कला जगत त ठिक छ तर बाहिर पनि अर्थात् वास्तविक जीवनमा पनि यस्ता पात्र फेला परे भने चाहिं सम्बन्धित क्षेत्रको कुन दशा होला ? वा मानव विकासक्रमले कति मूल्य चुकाउनुपर्ला? नागरिक समाजको अवस्था के होला? जेहोस् अब थोरै समय जादुगर हुदिनीतर्फ लागौं ।
हंगेरियन–अमेरिकी जादुगर हुन् ह्यारी हुदिनी । हंगेरीका बासिन्दा यहुदी पण्डितका छोरा हुदिनीको जादुगरी विश्व विख्यात छ । उनी जम्मा ५२ वर्ष बाँचे। गरिबीका कारण हंगेरीबाट अमेरिका बसाइँ सरेको उनको परिवारका लागि सुरुवाती दिन निकै संघर्षपूर्ण थिए । तेज दिमागका एरिक वेस, जो उनको वास्तविक नाम थियो, जादुगरी दुनियाँतर्फ आकर्षित भए ।
फ्रान्सेली जादुगर ‘रोबर्ट हार्डिन’ लाई आफ्नो आदर्श बनाएका हुदिनीले लण्डनबाट आफ्नो करिष्मा देखाउन सुरु गरे।
त्यहाँको जेलमा चमत्कार देखाएपछि उनले अपार चर्चा पाए । तत्पश्चात् जर्मनीमा त्यसै गरेर थप चर्चित बने । जेलमा अनेकौं ताला, हातगोडामा नेल हत्कडी लगाएर थुन्दा पनि आफूलाई मुक्त गर्न सक्ने क्षमता थियो उनमा । नयाँ दलको गीत गाएर मात्र पुग्दैन, कर्मले प्रमाणित गर्न सक्नुपर्छ यसको लक्षण कहींकतै देखिएको छैन । तर नयाँ हुनुको एउटा सुविधा छ । जनताले काम हेर्न बाँकी छ । तर अरुको घर भत्काएर आफ्नो घरको अस्तित्व बचाउने पुरातन शैली असान्दर्भिक भइसकेको छ । अब यस रोगबाट राजनीतिक दलहरू मुक्त हुनुपर्छ । नयाँ दलहरू त झन् मुक्त रहनुपर्छ ।
त्यति मात्र होइन, उनले जेलका अरु बन्दीलाई राखेको साविक स्थानबाट अन्तै सारिदिए । बाकसमा बन्द गरेर समुद्रमा फाल्दा होस् वा खाल्डो खनेर पुर्दा समेत सकुशल बाहिर निस्कन सक्ने अद्भुत क्षमता थियो हुदिनीमा । जादुको स्टेजबाट हात्ती नै गायव पार्न सक्थे उनी । उनलाई विश्वका अन्य महान् जादुगरहरूले समेत आफ्ना गुरु मान्छन् । तर उनै महान् जादुगर इटालीको जेलमा नराम्ररी असफल भए । कारण उनलाई त्यहाँको जेलमा राखियो र बलिया ताला लगाएर राखिएको छ भनेर भनियो तर ताला लगाइएन । उनको दिमागमा भने तालै ताला थियो । त्यसैले उनले ताला खोज्न र खोल्न अनेक कोसिस गरे । घण्टौं कोसिसका बाबजुद ताला भेट्न असफल भएपछि बेहोस भएर ढले । जब उनी ढले, उनको धक्काले ढोका आफैं खुल्यो । उनको ‘प्री माइण्डसेट’का कारण प्रारम्भमा जेलको भौतिक यथार्थ बुझ्नतर्फ लागेनन् । अन्ततः न्यूयोर्कमा जादु देखाएको हप्ता दिनमा उनको मृत्यु भयो । उनको मृत्युका बारेमा अनेक किस्सा छन् । जेहोस् हुदिनी व्यक्तिगत जीवनमा सफल जादुगर मानिन्छन् ।
नेपाली राजनीतिमा यतिबेला पुष्पकमल दाहालको चर्चा छ । चर्चा यसकारण छ कि उनलाई नेपालको पछिल्लो संसदीय राजनीतिका चतुर खेलाडी मान्न थालिएको छ । एक त हिंसात्मकबाट शान्तिपूर्ण राजनीतिमा पदार्पण गरेका उनी र उनको पार्टी निरन्तर खिइँदै गएको छ । तर व्यक्तिगत रूपमा भने उनी मोटाउँदै गएका छन् र चर्चाको केन्द्रमा समेत छन् ।
त्यति मात्रै होइन नेपाली राजनीतिको मुख्य भूमिकामा छन् र पार्टीभित्र झण्डै चारदशकदेखि एकछत्र राज चलाइरहेका छन् । यसैका कारण नेपालको राजनीतिमा उनलाई जादुगर जस्तो देखिन थालेको छ । पछिल्लो समय अन्य ठूला र मुख्य दलहरूलाई पर्ल्याकपुर्लुक पारेर सत्ता गुट्मुट्याउनु उनको खप्पिस वा खासियत भएको छ । सदन या सडकमा जहाँ पनि आफूलाई नै माथि पारेर बोल्ने दाहालले राजनीतिमा सायद, जे गरे पनि फरक पर्दैन भन्ने चिन्तन बोक्छन् । दाहाल यस प्रवृत्तिका अब्बल प्रतिनिधि हुन् ।
बाल्यकाल गरिबीको दुष्चक्रमा, तत्पश्चात् बसाइसराइ, जादुको दुनियाँमा प्रवेश, विस्तारै ख्याति र प्रसिद्धि र अन्ततः मृत्यु, हुदिनीको नियति थियो । न्यूयोर्कमा पनि उनलाई चिकित्सकले केही दिन आराम गर्ने सल्लाह दिएका थिए तर उनले मानेनन् । जसको परिणाम मृत्यु थियो, किनभने हुदिनी आफूलाई धुरन्धर ठान्थे ।
दाहाल पनि आफूलाई निकै धुरन्धर ठान्छन् र चिनियाँ नेता माओत्सेतुङको नेपाली संस्करण मान्छन् । ठिक छ– राजनीतिमा आफूले रुचाएको पात्रलाई गुरु थाप्न वा आदर्श मान्न पाइन्छ तर आफ्नो भूगोल र परिवेश थाहा पाउनुपर्छ, अनुकूल हुनु पनि पर्छ । पछि आएर इटालीको जेलमा हुदिनी अलमलिए जस्तो दाहाल नराम्ररी अलमलिएको प्रतीत हुन्छ । प्रधानमन्त्री भएको व्यक्ति यतिसारो अलमलिनु जायज हुँदैनथ्यो र एउटै ‘माइण्ड सेट’ले चल्नु पनि हुँदैनथ्यो । हामीलाई थाहा छ, अरूको सल्लाह कहिल्यै नमान्ने व्यक्तिको जीवन सुखद् र त्यसको परिणाम धेरै गतिलो हुँदैन ।
हुदिनी र दाहालको ‘ग्रो अप’ एकैनास छ, वास्तविक नाम पनि फरक छ दुवैको । एरिक वेस र छविलाल । यो संयोग मात्र हो जस्तो लाग्छ । चञ्चलता, अस्थिरता, महत्वाकांक्षा र मपाईंत्व एकैनास छ । अरुको सल्लाह मान्दै नमान्ने, आफ्नै सुरमा हिंड्ने । अझ दाहालमा त पालो गरी–गरी सबैलाई गाली गर्ने विशिष्ट क्षमता छ । आफ्नो आङको भैंसी नदेख्ने, अरुको आङमा जुम्रा देख्ने खुबी पनि छ । बोलीमा उच्च चेतना र सांस्कृतिक स्तर कायम राख्न नसक्ने प्रवृत्ति देखिन्छ । तीनचोटि प्रधानमन्त्री भएर पनि दाहाल औसत राजनीतिज्ञबाट माथि उठ्न सक्नुभएन, लोकतन्त्रका आधारभूत सिद्धान्तलाई आत्मसात् गर्न सक्नुभएन भन्ने छर्लङ्ग देखिन्छ ।
ज्यान जाँदा हुदिनीको मात्र गयो, जादुगर टोलीको गएन। नयाँ गठबन्धन भत्किंदा डुब्ने प्रचण्ड मात्र हो, अरु कोही होइन । त्यसैले नेपाली राजनीतिमा स्थापित हुँदै गएको राजनीतिमा जे गरे पनि हुन्छ भन्ने मान्यतालाई अन्त्य गर्नु आजको राष्ट्रिय आवश्यकता हो । त्यसबेला हुदिनीले पेट कसेपछि जस्तोसुकै मुक्काले पनि असर नगर्ने सर्वत्र प्रचार थियो । न्यूयोर्कको स्टेज शो अगाडि एक युवक आएर त्यस प्रचारको वास्तविकता सोध्यो । उसले सत्य हो भन्ने जवाफ दियो । त्यसपछि हुदिनी तयार नै नभई त्यस युवकले उसको पेटमा धमाधम मुक्का प्रहार गर्न थाल्यो । यसले उसको एपेन्डिक्स फुट्यो । मृत्युका विषयमा अन्य प्रचार जेसुकै भए पनि आखिर यही कारण एकहप्ता पछि नै उसको मृत्यु भयो ।
पुनः यो प्रसंग किन ल्याइएको हो भने देशको नेता भइसकेको राजनीतिज्ञले राजनीतिका संभावित जोखिमको
राम्रो आकलन गर्न सक्नुपर्छ, दाहालमा त्यो होश र दूरदर्शिता देखिएन । कुरा उहाँले झेल्नुपर्ने जोखिमको मात्र होइन, राष्ट्र र जनताले उठाउनुपर्ने उच्च जोखिम र संकटको हो । प्रम दाहालले आजसम्म धेरै राजनीतिक मुक्का खाइसकेको दुनियाँलाई थाहा छ । अहिलेको तरिकाले त निकट भविष्यमा राजनीतिक बज्रमुक्का खाने निश्चितै देखिन्छ । जनताको मुक्काले थलिएको बेला भावी संसदीय गठबन्धनको नयाँ मुक्का खाएपछि जाने कहाँ होला ? त्यतिबेला अकाल राजनीतिक मृत्युको बज्रमुक्का खानुपर्ने हुनसक्छ । यसको हेक्का दाहाललाई नभए जस्तो छ । त्यसैले राजकाज चलाउने कुरालाई उहाँले खेलाँची ठानेको र घरीघरी ख्यालठट्टा गरेको देखिन्छ । यो सफल राजनीतिज्ञको लक्षण होइन ।
नयाँ सरकारमा सामेल भएका गठबन्धनका पात्रहरू कतिपय पुरानै र कतिपय नयाँ छन् । पुराना पात्र त चिनेकै बिष्ट हुन् तर नयाँ माथि निकै चुनौती र जोखिम छन् । कुरा गरे जस्तो सजिलो काम गर्न हुँदैन । यसका कठिनाइ धेरै छन् । पहिलो कुरा, पुराना दल माथि अनेकौं प्रश्न उठाउँदा आफ्नो नैतिक धरातल बलियो हुनुपर्छ । यस दौरान आफूमाथि उठेका नैतिक प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्नुपर्छ । नैतिकताको दोहोरो मापदण्ड कसैलाई मान्य हुँदैन । सत्तामा पुग्नु राजनीतिका फोहोरलाई पन्छाउने अवसर प्राप्त गर्नु हो । यसको लागि आफ्ना कमि–कमजोरी खुला दिलले स्वीकार्न सक्नुपर्छ । जानी–नजानी भएका गल्तीलाई ढाकछोप गर्नुहुँदैन । तर नेपाली राजनीतिको सनातन रोगको रूपमा एउटा प्रवृत्ति विद्यमान छ । अरुका सामान्य गल्तीलाई पनि पहाड बनाउने र आफ्ना ठूल्ठूला गल्तीलाई पनि ढाकछोप गर्ने ।
सचेत नागरिक समाजले यसलाई नजिकबाट नियालिरहेको छ । सत्तामा रहँदा होस् या प्रतिपक्षमा, राज्यमा विद्यमान समस्याहरूलाई हेर्ने दृष्टिकोणमा समानता हुनुपर्छ । हामी सबैले बुझेकै कुरा हो कि विभिन्न विचारधारा र सिद्धान्त बोकेका दलहरू सबै यसै नेपाली समाजका उपज हुन् । यसभित्रको चिन्तन प्रणाली, स्वार्थ र महत्वाकांक्षा एकै हो । केवल ज्ञान, विवेक र राष्ट्रिय कर्तव्यबोधले हरेकले आफूलाई फरक प्रमाणित गर्ने हो । आजसम्म अपवाद बाहेक यस्तो विलक्षण प्रवृत्ति कसैमा पाइएको छैन । सबैमा देखिएको औसत प्रवृत्तिले आजको दुरवस्था निम्त्याएको हो । यस वास्तविकतालाई मनन गर्ने कसले ?
त्यसैले नयाँ दलको गीत गाएर मात्र पुग्दैन, कर्मले प्रमाणित गर्न सक्नुपर्छ । यसको लक्षण कहींकतै देखिएको छैन । तर नयाँ हुनुको एउटा सुविधा छ । जनताले काम हेर्न बाँकी छ । तर अरुको घर भत्काएर आफ्नो घरको अस्तित्व बचाउने पुरातन शैली असान्दर्भिक भइसकेको छ । अब यस रोगबाट राजनीतिक दलहरू मुक्त हुनुपर्छ । नयाँ दलहरू
त झन् मुक्त रहनुपर्छ । जादु विज्ञान होइन, जसलाई प्रमाणित गर्न सकियोस् । यो स्टेजमा प्रस्तुत गरिने कलात्मक गतिविधि मात्र हो । जादुमा देखाए जस्तो वास्तविक जीवन हुँदैन । यसको आयु स्टेज रहँदासम्म मात्र रहन्छ । यो क्षणभरको अद्भुत मनोरञ्जन मात्र हो । त्यसैले प्रचण्डले हुदिनी बन्ने प्रयत्न नगरेकै राम्रो हो । राजनीति मजाक गर्ने क्षेत्र होइन । हुनत नेपाली
राजनीतिज्ञहरूले आजसम्म समग्र राजनीतिलाई स्टेजको जादु जस्तो ठट्टा–मजाक ठानेका छन्, जसमा अहिले आएर प्रचण्ड अगाडि देखिनुभएको छ । यो राम्रो लक्षण होइन ।
उहाँका लागि न त राजनीतिक, न भौतिक परिस्थिति सोचे जस्तो अनुकूल छ । बरु सोचेभन्दा ज्यादा प्रतिकूल छ । र अब झन् बढ्नेवाला छ । जुन देशको समाज अशान्त र समस्याग्रस्त हुन्छ, त्यहाँका नेता र राजनीतिक दलले क्षणिक फाइदा त उठाउँछन् तर टिक्दैनन् । प्रचण्डको नियति पनि त्यही हो । वर्तमान नवनिर्मित गठबन्धन असफल हँदा प्रचण्ड बाहेक कोही पनि असफल हुँदैन । ज्यान जाँदा हुदिनीको मात्र गयो, जादुगर टोलीको गएन । नयाँ गठबन्धन भत्किंदा डुब्ने प्रचण्ड मात्र हो, अरु कोही होइन। त्यसैले नेपाली राजनीतिमा स्थापित हुँदै गएको राजनीतिमा जे गरे पनि हुन्छ भन्ने मान्यतालाई अन्त्य गर्नु आजको राष्ट्रिय आवश्यकता हो ।
साभार अनलाइन खबर







